द सिनेमा टाइम्स, काठमाडौं । छायांकनरत सिनेमा ‘चिरञ्जीवी भवः’को सेटमा आफूले जातीय विभेद र दुर्व्यवहार भोग्नुपरेको आरोप लगाएपछि निर्देशक दीपकप्रसाद आचार्यले सार्वजनिक गरेको ६ बुँदे स्पष्टीकरणको अभिनेत्री काजल कर्णले पुनः जवाफ दिएकी छन् ।
फेसबुकमा लामो स्टाटस लेख्दै काजलले निर्देशकको स्पष्टीकरणले वास्तविकता नढाक्ने दाबी गरेकी छन् । ‘सत्यलाई फिल्मको क्यानभासमा जति नै रंग्याउन खोजे पनि यसको वास्तविक रङ कहिल्यै खुइलिँदैन’ भन्दै उनले आफूले सेटमा भोगेको अपमान वास्तविक रहेको उल्लेख गरेकी छन् ।
निर्देशकले सेटमा कुनै जातीय दुर्व्यवहार नभएको दाबी गरेको विषयमा काजलले मेकअपका क्रममा ‘मधेशी भएपछि कालो मेकअप नै सुहाउँछ’ भन्ने टिप्पणी गरिएको आरोप लगाउँदै त्यसबेला संवेदनशीलता नदेखाइएको भन्दै प्रश्न उठाएकी छन् ।
सुटिङमा आफू अनुपस्थित भएको निर्देशकको दाबीप्रति पनि काजलले आपत्ति जनाएकी छन् । उनले पारिश्रमिक नपाएको विषय उठाउँदै पैसा नदिने, फोन नउठाउने र पारिश्रमिक नआएसम्म आफू काममा नआउने भनिएको अवस्थालाई कसरी अनुशासनहीनता भन्न मिल्छ भन्दै प्रश्न गरेकी छन् ।
आफू मधेशी मूलकी भएको कुरा स्टाटस सार्वजनिक भएपछि मात्र थाहा पाएको निर्देशकको भनाइलाई पनि काजलले अस्वीकार गरेकी छन् । उनले लेखेकी छन् ‘सिनेमा साइन गर्दा मेरो थर ‘कर्ण’ र मेरो घर-पृष्ठभूमिबारे सोधखोज गर्ने तपाईं आज अन्जान बन्नु कुन संवेदनाभित्र पर्छ ?’
इटहरीमा बोलाएर अर्कै कलाकारलाई आफ्नो भूमिकामा राखिएको दाबी दोहोर्याउँदै काजलले आफूलाई जानकारी नदिई भूमिका परिवर्तन गर्नु व्यावसायिक मर्यादाविपरीत भएको आरोप लगाएकी छन् ।
स्टाटसको अन्त्यमा उनले यो लडाइँ आफ्नो व्यक्तिगत विषय मात्र नभएर सिनेमा क्षेत्रमा हुने रङ्गभेद र श्रम शोषणविरुद्धको आवाज भएको बताएकी छन् । ‘सत्य डग्दैन, केवल समयलाई पर्खिरहन्छ,’ उनले लेखेकी छन् ।
यसअघि निर्देशक दीपकप्रसाद आचार्यले काजलले लगाएका आरोप अस्वीकार गर्दै सिनेमा निर्माण टिमले कुनै पनि कलाकारमाथि जातीय वा क्षेत्रीय आधारमा विभेद नगरेको दाबी गरेका थिए ।
समाचार तयार पार्दासम्म दुवै पक्षले सामाजिक सञ्जालमार्फत आ-आफ्ना धारणा सार्वजनिक गरिसकेका छन्। यस विषयमा उठाइएका आरोप र प्रत्यारोपको पुष्टि हुन बाँकी छ ।


प्रतिक्रिया