ओटीटीमा सिनेमा रिलिज गर्दा सम्भावित फाइदा र बेफाइदा

ओटीटीमा सिनेमा रिलिज गर्दा सम्भावित फाइदा र बेफाइदा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कोरोना भाइरसले विश्वभर विनाश निम्त्याएको छ । लकडाउनले गर्दा धेरै देश आर्थिक संकटको भुमरीमा धकेलिएका छन् । नेपालमा पनि ८० दिनदेखि जनता घरभित्र थुनिएका छन् ।

सिनेमा क्षेत्रमा हल बन्द छन् । व्यस्त सिनेकर्मीहरु फर्सदिला बनेका छन् । अझ कोरोना महामारीको अन्त्यपछि सामान्य अवस्थामा आउन सिनेमा क्षेत्रलाई बढी सकस हुने देखिन्छ । यस्तोमा रिलिजको लागि तयार भएर बसेका सिनेमाले अझ धेरै घाटा बेहोर्नुपर्ने देखिन्छ ।

सिनेमा हल खुल्ने अनिश्चित नै छ । त्यसैले केहि सिनेकर्मी हलको विकल्प खोज्दै डिजिटल प्लेटफर्म मार्फत सिनेमा रिलिजको तयारी गर्दैछन् । बलिउडमा अमिताभ बच्चन र आयुषमान खुराना स्टारर सिनेमा ‘गुलाबो सिताबो’, करण जोहरको ‘गुञ्जन सक्सेना’ ओटीटी प्लेटफर्मबाट रिलिज हुँदैछन् ।

यस्तै नेपालमा पनि ‘कोपिला’ टेलिभिजनमा रिलिज भैसकेको छ । भने, रेखा थापा र सविन श्रेष्ठ स्टारर ‘हिरो रिटर्न्स’ जेठ ३० गतेबाट टेलिभिजनमा रिलिज हुँदैछ । सिनेमा ‘चिनी कम रंग कडा’ले पनि ओटीटी प्लेटफर्म रिलिजको तयारीसहित गीत सार्वजनिक गरिसकेको छ ।

तर, स्थिति सामान्य नभएर सिनेमा सिधै ओटीटी मै रिलिज हुने अवस्था आयो भने त्यसको प्रत्यक्ष असर कहाँ देखिनेछ ? पक्कै पनि हलमा ठुलो परिवर्तन देखा पर्नेछ । हरेक प्लेटफर्ममा रिलिजका फाइदा र बेफाइदा छन् ।

हलमा सिनेमा हेर्दा दर्शकलाई राम्रो एक्सपेरिमेंट मिल्थ्यो । ठुलो पर्दामा ठुला दृश्यबाट दर्शक बन्चित हुनुपर्नेछ । ओटीटीमा दर्शकले चार भित्त्ताभित्र खुम्चिएर सानो पर्दामा सिनेमा हेर्नुपर्नेछ । जसमा हलको जस्तो डल्बी साउण्ड सिस्टमको खडेरी पर्नेछ । दर्शकले मोबाइलमै सिनेमा हेर्दा हलको मज्जा उठाउन पाउने छैनन् ।

ओटीटीबाट पुग्ला त फाइदा ?

आँकडाको हिसावले ओटीटीमा सिनेमा रिलिज गर्न सिनेमेकर्सलाई ठुलो चुनौती देखिन्छ । के हलमा पाउने सफलता ओटीटीमा देखिएला त ? कुनै पनि बिग बजेटको सिनेमाले लागत भन्दा धेरै कमाइ गरेभने मात्र सफलताको ट्याग पाउछन । हलमा रिलिज हुँदा सिनेमाले एडभान्स बुकिङबाट लागतको केहि प्रतिशत रिकभर गर्थ्ये । तर, ओटीटीमा यस्तो देख्न पाइनेछैन ।

हलमा टिकट मुल्य पनि बढी हुन्छ । हलमा सिनेमा नचलाउदा हलसँग जोडिएका थुप्रै कर्मचारीको रोजीरोटी गुम्नेछ । यस्तै सिनेमाको करोड क्लब, १० करोड क्लब लगायतका ट्रेन्ड सकिनेछन् । अब सिनेमाको सफलता मापन उसको भ्युअरसिपमा गरिनुपर्ने हुन्छ । यस्तै बक्सअफिस नम्बर पनि खतरामा पर्ने देखिन्छ ।

पाइरेसीको खतरा कम

कुनै पनि ठुलो सिनेमाको पाइरेसी हुने सम्भावना कम हुनेछ । टेलिभिजन र इन्टरनेटमा एकैपटक लाखौँ दर्शक माँझ सिनेमा पुग्ने हुँदा पाइरेसी मतलब रहनेछैन । यहाँ दर्शकलाई सिनेमा हलसम्म पुग्ने झन्झट र फजुल समयबाट छुटकारा मिल्नेछ ।

स्टार कल्चरमा देखिनेछ असर

नेपालमा हाइप निर्माण गरेका सिनेमा र स्टारकास्ट जोडिएका सिनेमालाई दर्शक माँझ छुट्टै किसिमको क्रेज रहने गर्छ । स्टार कलाकारको सिनेमा हेर्दै हलमा दर्शकले सिट्टी मार्ने र पागलपन देखाउने ठाउँ रहनेछैन । यो अवस्थाले स्टार कलाकारको स्टारडममा ठुलो असर पार्न सक्छ ।

अहिलेको जमानामा जोकोहि इन्टरनेटको माध्यमले दर्शक कहाँ पुग्न सक्छन । यस्तोमा आम मानिसले निर्माण गरेका मनोरंजनका सामाग्रीसँग सिनेमेकरले प्रतिष्पर्धा गर्नुपर्नेछ ।

यदि  ओटीटीमै दर्शकलाई सहज वातावरण बनिदियो भने सामान्य अवस्थामा दर्शक हलसम्म पुग्ने कष्ट गर्नेछैन । उनिहरुमा ओटीटीमै सिनेमा पर्खिने कल्चरको विकास हुनेछ ।

अहिले ओटीटी प्लेटफर्म सिनेकर्मीका लागि एक्सपेरिमेन्ट जस्तै हुनेछ । यसले पुर्याउने फाइदा र बेफाइदा आउँदो दिनमा छर्लंग हुनेछन ।