डार्क कमेडीका खेलाडी उपेन्द्रको ‘जारी’मा महिला अधिकारको वकालत

डार्क कमेडीका खेलाडी उपेन्द्रको ‘जारी’मा महिला अधिकारको वकालत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – उपेन्द्र सुब्बाको नाम सिनेमामा भन्दा पनि साहित्यमा ज्यादा छ । साहित्यमा पनि विधा छुट्याउने हो भने कवितामा । त्यसैले त होला जारी पोएट आइडलका निर्णायक पनि हुन् उनी । पोएट आइडल जारी छ । यही समय उनको सिनेमा ‘जारी’ नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट रिलिज हुँदैछ ।

नेपाली सिनेमा इन्डष्ट्रीकै हिट सिरिज सिनेमा ‘कबड्डी’का लेखक उपेन्द्र ‘जारी’मार्फत निर्देशकको स्वाद चाखदैछन् । ‘कबड्डी’बाट उनले आफूलाई चलचित्रमा पनि कुशल सिनेमा लेखकका रूपमा पनि स्थापित गरिसकेका छन् । उपेन्द्र ‘जारी’का निर्देशक हुन् ।

केही फरक शैलीमा उनले एक महिना अगाडि ‘जारी’को टिजर रिलिज गरे । टिजर उनले आफ्नै जानपहिचानको विधा कवितात्मक लयमा भने । कस्तो खालको टिजर हो यो ? धेरै अन्योलमा परे । तर, शुक्रबार उपेन्द्रले जब ‘जारी’को ट्रेलर सार्वजनिक गरे । धेरैलाई ट्रेलरले लोभ्यायो । हलमा कलाकारसहितको उपस्थितिमा देखाइएको ट्रेलरलाई उपस्थितले राम्रो भने । युट्युबमा हेर्नेले पनि तारिफ गरिरहेका छन् । उपेन्द्र डार्क कमेडीका खेलाडी नै हुन् । उनलाई त्यसैले त ‘कबड्डी’ सिरिज अहिलेसम्म चलिरहेको छ । सिनेमा त भयो व्यवसाय, त्यसमा पनि जनरानै डार्क कमडी, त्यस्तै हुने नै भयो । हुनै पर्यो पनि । उपेन्द्र सामान्य बोलिचालीमै पनि कमेडी गरिरन्छन् । हसाइरहन्छन् ।

शुक्रबार ट्रेलर सार्वजनिक कार्यक्रममा पनि उनले कमेडी गर्न भ्याए । तर, सिचुएसनल कमेडी । कहाँ कति बेला उपेन्द्र हसाउँछन् पत्तै हुँदैन । ‘हाम्रो लिम्बू समुदायमा लिम्बू महिलाले चार-पाँचवटा विवाह गर्नुलाई सामान्य मानिन्छ । गरिरहेका पनि हुन्छन्,’ उपेन्द्र अगाडि थप्छन्, ‘तर, जारी फिल्मले बुढा छोड्न र धेरै विवाह गर चाहीँ भन्दैन है ।” हलमा उपस्थित गलल हाँस्छन् । उपेन्द्र पनि हाँसो थाम्न सक्दैनन् । सँगै हाँस्छन् ।

उनी लिम्बू समुदायको कुरा गर्छन् । लिम्बू संस्कार र संस्कृतिको कुरा गर्छन् । नयाँ पुस्ताले भुल्न लागेको संस्कार सिनेमामा देखाउन खोजेको कुरा स्पष्ट पार्छन् । ‘मैले यो सिनेमा मेरा छोरीहरूका लागि बनाएको हुँ । मेरा छोरी यतै काठमाडौंमा जन्मिए । हुर्किए । यतैको चालचलन सिके । युट्युब र किटकटको समय छ । अमेरिकामा के खान्छन्, के लाउँछन् र के गर्दैछन् थाहा पाउने भए,’ उनी भन्छन्, ‘त्यसैले हाम्रो यो संस्कार र संस्कृति के हो । हाम्रो संस्कार यस्तो छ भनेर मैले जारी बनाएको हुँ ।’

बहुविवाहको वकालत त सिनेमाले नगर्ने तर महिला अधिकारको कुरा भने गर्ने उपेन्द्रले स्पष्ट पारे । अहिलेको समयमा महिलाहरू आफ्नै श्रीमान्बाट पीडित तथा अपहेलित भएर बस्नु हुँदैन भन्ने सन्देश भने सिनेमाले दिने उनले सुनाए ।

खासमा जारको अर्थ श्रीमती पोहिला गए पछि पहिलाको श्रीमानले आफ्नी श्रीमती भगाउने पुरुषसँग क्षतिपूर्तिस्वरुप दाबी गर्ने पैसा हो । तर, लिम्बू समूदायमा भने यसको अर्थ अलि फरक रहेको उनी बताउँछन् । उनी यसलाई विशिष्ट भन्न रुचाउँछन् । लिम्बू समूदायमा जारी भनेको महिलालाई दिइएको विशिष्ट अधिकार हो, भन्छन् उपेन्द्र । लिम्बू समूदायमा जारी जारले नभएर केटीको माइती पक्षले तिर्नुपर्छ । छोरी आफ्नै श्रीमानको अपहेलनामा परे वा प्राकृतिक रूपमा श्रीमान रोज्न पाउने उसको अधिकार हनन् भए माइती पक्षले जारी तिरिदिएर छोरीलाई अर्को श्रीमान् रोज्न पाउने प्रचलन रहेको उनले स्पष्ट पारे । यसकै सेरोफेरोमा सिनेमाको कथा रहेको पनि उनले जानकारी दिए ।

कथा मन परेकैले आफूले निर्देशन गरेको पनि उपेन्द्र स्पष्ट पार्छन् । आफू निर्देशकभन्दा पनि साहित्यकार भएको र साहित्यमै रमाइरहेको भन्दै उनी केही फरक कथा भन्ने रहरले निर्देशनमा हात हालेको बताउँछन् । ‘म एउटा राम्रो कथा भन्न सक्छु भनेर आएको हुँ । म राम्रो निर्देशक हुँ भनेर आएको होइन । साहित्यकार भएकाले कथा भन्न सक्छु भन्ने आँट गरेको हुँ,’ उनी भन्छन्, ‘म राम्रो निर्देशक हुँ भनेर सिनेमा निर्देशन गर्न आएको होइन । आइरहेका भन्दा फरक कथा भनौँ भनेर आएको हुँ । म कविताको भारी त गह्रुंगो महसुस गरिसकेको मान्छे निर्देशकको भारी रहरले त किन बोक्थेँ होला र ?’

लिम्बू समूदायमा बुढाबुढीबीच सामान्य घरझगडा हुँदा पनि माइत जाने चलन रहेको स्मरण गर्दै उपेन्द्र सूर्तीको विषयलाई लिएर पनि झगडा हुँदा माइत गइहाल्ने परम्परा रहेको बताउँछन् । जुन ट्रेलरमा पनि देखिन्छ ।

माइत गएकी श्रीमतीलाई लिन ससुराल गएको ज्वाईँलाई बोलीबचनले नबिझाउने तर हलो जोताउनेदेखि भारी बोकाउनेसम्म गराएर अब चाहीँ ज्वाईं सुध्रियो भनेपछि मात्रै छोरी घर पठाउने चलन रहेको उपेन्द्र सुनाउँछन् । छोरी पुर्याउने बाहाना ठूलो संख्यामा ससुरालीबाट छोरीको घर आउने र दिक्क लगाउनेगर हप्तौं मेजमानीमा बस्ने चलन रहेको र यिनै संस्कृति र संस्कार सिनेमाले देखाउने उपेन्द्र स्पष्ट पार्छन् ।

पछिल्लो पुस्ताले अनुभूत गर्न छोडिसकेका कतिपय कुरा सिनेमाले देखाउने र त्यही लोभका कारण आफूले निर्देशकीय चुनौती मोलेको उनी बताउँछन् । भाषा र संवाद लेखनमा राम्रो पकड भएका उपेन्द्रको यही लयमा ‘जारी’ रहेको ट्रेलरबाट धेरैले अपेक्षा गरेका छन् ।

कार्यक्रममा नायिका मिरुना मगरले आफू जन्मिनुभन्दा अगाडिको कथा भए पनि आफूले काम गरेको बताइन् । यो सिनेमामा काम गर्नुको पनि कारण छ मिरुनासँग । उनकै अनुसार उनकी आमा लिम्बू हुन् । त्यसैले उनी स्वयंले अनुभूत नगरे पनि आमाबाट सुनेका धेरै कुरा उनले सिनेमामा भेट्याएकी छन् ।

सिनेमाको मियोका रुपमा दयाहाङ राई खडा भएका छन् । उपेन्द्र र दयाहाको टाइअप नयाँ भने होइन । ‘कबड्डी’मा लामो समयदेखि लेखक र कलाकारका रूपमा उनीहरुले सहकार्य गर्दै आइरहेका छन् । लिम्बू समूदायका साथीहरुसँगको संगत पुरानै भए पनि संस्कार र संस्कृतिकै भित्री तहमा गएर बुझ्ने मौका भने आफूले पहिलोपटक पाएको दयाहाङ बताउँछन् ।

‘जारी’मार्फत आफूले लिम्बू संस्कार धेरै बुझ्न पाएको भन्दै चलचित्र राम्रो बनेकोमा आफू ढुक्क रहेको पनि उनले विश्वस्त पार्ने प्रयास गरे ।

~~दिनेश सिटौला~~