आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ अष्ट्रेलिया राइट्स बिक्री

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ अष्ट्रेलिया राइट्स बिक्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने लभस्टोरी सिनेमा ‘डिसेम्बर फल्स’को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । नेप आर्ट यूट्युब डिजिटल र एजुकेसन एण्ड माइग्रेसन कर्नरले महंगो मुल्यमा सिनेमाको अष्ट्रेलिया राइट्ससँगै डिजिटल राइट्स खरिद गरेको हो । शनिवार दुई पक्षबीच कागजी सम्झौता भएको थियो ।

लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध एजुकेसन एण्ड माइग्रेसन कर्नरले अष्ट्रेलियामा विभिन्न सिनेमा प्रदर्शनसँगै सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ । उपासना माइग्रेसन कर्नरकी ब्राण्ड एम्बसेडर पनि हुन् । दर्शकमाझ परिचित कलाकारहरुको अभिनय रहने भएका कारण सिनेमाको राइट्स खरिद गरेको माइग्रेशन कर्नरका प्रमुख सुनिल उप्रेतीले बताए ।

सिनेमामा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, दयाराम दाहाल, नरेश भट्टराई लगायतको पनि अभिनय रहनेछ । राम प्रसाद रिजालको प्रस्तुतीमा निर्माण हुने सिनेमाको निर्मातामा राज कुमार भट्ट रहेका छन् । केदार भुषालको पटकथा तथा संवाद रहेको सिनेमामा महेश आर गुप्ताको छायांकन रहनेछ । सिनेमाले उमेर अन्तरको कथा भन्नेछ ।

प्रबिन झाले निर्देशन गर्ने सिनेमाका कार्यकारी निर्माता लक्ष्मण रिजाल हुन् । विपिका खनालको कथा रहेको सिनेमामा विरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका घटना तथा समस्यालाई देखाइने बताइएको छ । काठमाडौं र पोखरामा छायांकन हुने सिनेमाका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहनेछ । अर्को वर्षको साउन १ गतेलाई ‘डिसेम्बर फल्स’को प्रदर्शन मिति घोषणा गरिएको छ ।