अन्तर्राष्ट्रिय ८ कलाकार कलामार्फत ‘अनिच्च’को सार बुझाउँदै

अन्तर्राष्ट्रिय ८ कलाकार कलामार्फत ‘अनिच्च’को सार बुझाउँदै

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा यतिबेला संसारका ८ चर्चित कलाकारले कलामार्फत ‘अनिच्च’ शब्दको सार बुझाउन खोजिरहेका छन् । बौद्धस्थित लिच्छवि हाउसमा आयोजित साता लामो कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनित्यको भाव प्रस्तुत गर्दैछन् ।

संसार अनित्य र परिवर्तनशिल छ । कुनै कुराको अस्तित्व आज छ, भोलि हुँदैन । ब्रम्हाण्डको यो नियमलाई बुझाउने एउटा शब्द बौद्ध दर्शनमा छ – अनिच्च । यो शब्दको अर्थ हुन्छ – अस्थायी जीवनको हिस्सा ।

क्यानडेली कलाकार एमिली एभरी योशिको क्रोद्वारा क्युरेट गरिएको प्रदर्शनीमा स्थानीय र अन्तर्राष्ट्रिय कलाकारको जमघट चलिरहेको छ । चैत ११ देखि सुरु भएको प्रदर्शनी १७ गतेसम्म चल्नेछ ।

प्रदर्शनीमा फोटोग्राफी, चित्रकला, भिडियो र अन्तक्रियात्मक सत्र समावेश छन् । विश्वचर्चित सिनेमा निर्देशक, लेखक तथा बौद्ध गुरुङ खिन्से नोर्बुले कला प्रदर्शनीको शुभारम्भ गरेका थिए ।

क्युरेटर क्रो प्रदर्शनीमा प्राप्त प्रतिक्रियालाई लिएर उत्साहित सुनिइन् । ‘प्रियजनको मृत्यु, ऋतुहरुमा परिवर्तन, छिनछिनमै बदलिइरहने आफ्नै मनस्थिती, विश्वब्यापी जलवायु परिवर्तन आदि अनित्यका बलिया विम्व हुन्’ क्रो भन्छिन्, ‘मलाई आशा छ यो प्रदर्शनीले विविध कलाको सम्मीश्रणमार्फत जीवन र जगतको जटिलतालाई सरल अभिव्यक्तिमा बताइदिनेछ ।’

लिच्छवि हाउसकी कार्यक्रम प्रमुख टारीरत्न प्रधानले सबै कलाकारको अनुपम कलाशैली देखाउन पाउँदा आफूहरु उत्साहित रहेको बताइन् । ‘यहाँ समावेश हुने प्रत्येक कलाकृतिले जीवन सँधै कसरी परिवर्तन भैरहेको हुन्छ भनेर गहन र व्यापक रुपमा प्रस्तुत पनि गरेको छ’ उनले भनिन् ।

कहाँबाट को कलाकार आएका छन् ?
फ्रान्सका चर्वेई साई, बेलायतका लुसिन्डा कामेन, पूर्वबाट ड्यालाइस्ट र भ्रमादेव पुष्पा, भुटानका कर्मा वाङ्चुक, भारतकी गौरी गिल र नेपालकी महिमा सिंहले कला प्रस्तुति दिइरहेका छन् ।

भ्रमादेव पुष्पा बहुमुखी कलाकार हुन् जो एकैसाथ सिनेमा निर्माण, गार्मेन्ट डिजाइन र फोटोग्राफी शिल्पमा प्रसिद्ध छिन् । उनका सिर्जनात्मक चेतले परम्परागत सीमा तोडेर सिनेमा, फेसन र श्रव्यदृश्य कलामा रोमाञ्चक कथा सिर्जना गर्छन् जसले दर्शकको चाखलाई गहिरोसँग प्रतिविम्वित गर्छ ।

रोड आइल्याण्ड स्कुल अफ डिजाइनबाट औद्योगिक डिजाइन तथा कला र वास्तुकलामा स्नातक चार्वेई साई फ्रान्सको राजधानी पेरिसमा बस्छिन् र त्यहाँ क्रियाशिल छिन् । डायलाइस्ट एक चिनियाँ ग्राफिटी कलाकार हुन् जसले सहरी कलामा आफ्नो ठाउँ भेट्टाए । अहिले नेपालमा बसेर उनले ग्राफिटीमार्फत कलाको अन्वेषण गरिरहेका छन् ।

प्रदर्शनीकी क्युरेटर समेत रहेकी एमिली एभरी योशिको क्रो अमेरिकाको कोलोराडोमा जन्मिएकी कलाकार हुन् । उनी पानीरङ, प्राकृतिक मूर्तिकला, कपडा, एनिमेसन र फिल्म निर्माण डिजाइनमा काम गर्छिन् । उनको कला धार्मिक मूर्तिकलासँग सम्बन्धित छ जसले वर्तमान समयमा मिथक र रहस्यमय कल्पनालार्ई पुर्नपरिभाषित गर्छ ।

खिन्से नोर्बुका सिनेमाहरु ‘हेमा हेमा’, डाकिनी, पिग एट द क्रसिङमा उनी आर्ट डिजाइनरको रुपमा थिइन् । भारतीय कलाकार गौरी गिलले भारत र अन्तर्राष्ट्रिय रुपमा प्रशस्तै कला प्रदर्शनी गरिरहेकी छन् । भुटानका कर्मा वाङ्चुक कलाकारको साथै स्वतन्त्र सिनेमा निर्माता पनि हुन् । उनको प्रयोगात्मक छोटो सिनेमा ‘द मंक इन द फरेस्ट’ सिंगापुर अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा प्रिमियर भएको थियो ।

लण्डनलाई कर्मथलो बनाएकी लुसिन्डा कामेन दृश्य कलाकार हुन् । काठमाडौंमा जन्मिएकी महिमा सिंह दृश्य कलाकारसँगै कला शिक्षक समेत हुन् । भिजुअल र प्रदर्शनी कलामार्फत सामाजिक रितिरिवाजलाई चुनौति दिने प्रयत्नमा उनी छिन् ।